वीरगञ्ज । लामो समयदेखि चर्चामा रहेको वीरगञ्जको मुख्य सडक विस्तारको काम अब टुंगिने चरणमा पुगेको छ । सडक सीमाभित्र रहेका बाँकी संरचना हटाउने काम तीव्र पार्दै सडक डिभिजन कार्यालयले सोमबारसम्म विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ ।
हेटौँडास्थित सडक डिभिजन कार्यालयका इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादका अनुसार नेपाल टेलिकमको भवन र माइस्थान क्षेत्रनजिक सडक विस्तारका क्रममा देखिएको विवाद आजै समाधान गरी सोमबारसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उनका अनुसार सडक विस्तारसँगै नापजाँचको कामसमेत एक साताभित्र सक्ने योजना छ ।
सडक सीमाभित्र पर्ने अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम तीव्र रूपमा अघि बढिरहेको उनले बताए । हाल सिद्धार्थ बैंक, पमपम बिल्डिङ तथा हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको छ ।
घरधनीहरूले कतिपय संरचना आंशिक रूपमा मात्रै भत्काएका कारण अधुरो रहेका भाग हटाउने काम पनि अहिले भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले पहिलो चरणमा गत वैशाख ६ र ७ गते मुख्य सडकको दायाँ र बायाँतर्फ २५–२५ मिटरभित्र पर्ने करिब १ हजार २०० घर तथा भवनका अगाडिका संरचना डोजर प्रयोग गरी हटाएको थियो । त्यस क्रममा उत्तरतर्फ गण्डक क्षेत्र र दक्षिणतर्फ मितेरी पुलबाट एकैसाथ आधा दर्जनभन्दा बढी डोजर परिचालन गरिएको थियो ।
सडक सीमाभित्र परेका संरचना २५ दिनभित्र आफैँ हटाउन सम्बन्धित घरधनीलाई आग्रह गरिएको थियो । तर, तोकिएको समयसीमाभित्र धेरै संरचना नहटाइएपछि सडक डिभिजन कार्यालयले गत असार २० गतेदेखि पुनः डोजर परिचालन गरी दोस्रो चरणको संरचना हटाउने अभियान सुरु गरेको इन्जिनियर दुर्गाप्रसादले जानकारी दिए ।
उनका अनुसार अहिले सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । बाँकी रहेका संरचना हटाउने काम पूरा भएपछि सडक विस्तारको मुख्य काम सोमबारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । साथै सडकको सीमांकन तथा नापजाँचको काम पनि त्यसपछि एक साताभित्र पूरा गर्ने योजना रहेको छ ।


































