यो बहुप्रतीक्षित खेल अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ। पाँच पटक विश्वकप जितिसकेको ब्राजिल र लामो समयपछि नकआउटमा फर्किएको नर्वेबीचको यो भिडन्तलाई निकै प्रतिस्पर्धात्मक मानिएको छ।
खेललाई विशेष रूपमा नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्ड र ब्राजिलका आक्रमणकर्ता भिनिसियस जुनियरबीचको भिडन्तका रूपमा पनि हेरिएको छ। दुवैले यस संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
ब्राजिलको यात्रा भने पूर्ण रूपमा सहज देखिएको छैन। समूह चरणको सुरुवाती खेलमा मोरक्कोसँग बराबरी खेलेको टोलीले त्यसपछि हाइटी र स्कटल्यान्डविरुद्ध प्रभावशाली जित निकाल्दै आत्मविश्वास फर्काएको थियो। नकआउटको पहिलो चरणमा जापानलाई कठिन संघर्षपछि २–१ ले हराउँदै ब्राजिल अगाडि बढेको हो।
उता, नर्वे यस पटकको प्रतियोगिताको ‘डार्क हर्स’ बनेको छ। समूह चरणमा राम्रो प्रदर्शन गर्दै अगाडि बढेको नर्वेले नकआउटमा आइभरी कोस्टलाई हराउँदै थप चर्चा कमाएको थियो। टोलीको आत्मबल उच्च छ, विशेषगरी इतिहासमा ब्राजिलविरुद्ध पाएको जितले उनीहरूलाई प्रेरित गरेको छ।
हालान्डले गोल गर्ने क्षमता प्रदर्शन गरिरहँदा कप्तान मार्टिन ओडेगार्डको सिर्जनात्मक खेल नर्वेको बलियो पक्ष बनेको छ। अर्कोतर्फ, भिनिसियस जुनियरले निरन्तर गोल गर्दै ब्राजिलको आक्रमणलाई नेतृत्व गरिरहेका छन्।
मिडफिल्डमा ब्रुनो गुइमारेसको योगदान उल्लेखनीय छ भने केही खेलाडीको चोटका बाबजुद टोली सन्तुलित देखिएको छ। युवा खेलाडीहरूको प्रदर्शनले पनि ब्राजिललाई थप मजबुत बनाएको छ।
डिफेन्स र आक्रमणबीचको टक्कर पनि खेलको मुख्य आकर्षण हुनेछ, विशेषगरी हालान्ड र ब्राजिलका डिफेन्डरबीचको प्रतिस्पर्धा निकै चासोका साथ हेरिएको छ।
दुवै टोली आ–आफ्नै लयमा रहेकाले यो खेलमा गोलको सम्भावना उच्च रहेको विश्लेषण गरिएको छ। अनुभव र इतिहास बोकेको ब्राजिल र उत्साह तथा आत्मविश्वासले भरिएको नर्वेबीचको यो भिडन्तको अन्तिम नतिजा मैदानमै तय हुनेछ।
फिफा विश्वकप अन्तर्गत अन्तिम–१६ को बहुप्रतीक्षित खेलमा आज ब्राजिल र नर्वे आमनेसामने हुँदैछन्। पाँचपटकको च्याम्पियन ब्राजिल अनुभवका साथ मैदान उत्रँदा उत्कृष्ट लयमा रहेको नर्वे ‘सरप्राइज’ प्रदर्शन दोहोर्याउने लक्ष्यमा छ।






































