काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रहरीको नियन्त्रणबाट रिहा भएका छन्। आइतबार बिहानसम्म प्रहरीको नियन्त्रणमा रहेका जबरालाई दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट छाडिएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई शनिबार राति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले भने उनलाई पक्राउ नगरिएको र सुरक्षा संवेदनशीलताका कारण कार्यालयमा ल्याइएको दाबी गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई कार्यालयबाट सुरक्षित स्थानमा लगेर छाडिएको जानकारी दिएका छन्।
कार्यालयका एक अधिकृतका अनुसार जबरा कार्यालयबाट बाहिरिइसकेका छन्। उनले भने, ‘उहाँ यहाँबाट जानुभएको छ, सुरक्षित स्थानमा पठाइएको छ।’
जबरालाई नियन्त्रणमा लिनुको कारण र घटनाबारे प्रहरीले थप विवरण भने सार्वजनिक गरेको छैन।
































