काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट शक्तिहरूबीच छिटो सहकार्य सुरु गर्नुपर्नेमा जोड दिएका छन्। सहकार्यमा ढिलाइ भए देश गम्भीर संकटतर्फ जान सक्ने भन्दै उनले चेतावनी दिएका हुन्।
मदन भण्डारीको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर बनाउने प्रयास भइरहेको दाबी गरे। भारतमा जस्तै नेपालमा पनि कम्युनिष्ट शक्तिलाई कमजोर पार्ने योजनाहरू अघि बढाइएको उनको भनाइ थियो।
उनका अनुसार हाल देखिएका राजनीतिक गतिविधि र विगतका घटनाहरू पनि यस्ता योजनाकै परिणाम हुन सक्छन्। त्यसैले राष्ट्रिय स्वाधीनता जोगाउन, निरंकुशता र फासिवादको विरोध गर्न तथा बाह्य हस्तक्षेप रोक्न वामपन्थी र देशभक्त शक्तिहरूबीच छिटो सहकार्य आवश्यक रहेको उनले बताए।
प्रचण्डले तत्काल पार्टी एकताको प्रस्ताव नभए पनि सहकार्य भने तत्कालै सुरु गर्न सकिने स्पष्ट पारे। संसद, सडक र चुनाव सबै क्षेत्रमा मिलेर काम गर्नुपर्ने भन्दै उनले ढिलाइ गर्नु दुर्भाग्यपूर्ण हुने धारणा राखे।





































