दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ जलजले स्थित श्रीस्थान धार्मिक आस्था र प्राकृतिक विशेषताका कारण परिचित क्षेत्र हो । यहाँ मन्दिर परिसरमा जमिनबाट निस्किएको ग्यासका कारण निरन्तर आगो बलिरहेको देख्न सकिन्छ । स्थानीयले उक्त ज्वालालाई ज्वाला देवीका रूपमा पूजा गर्दै आएका छन ।
धार्मिक मान्यताअनुसार सतीदेवीको शिर पतन भएको स्थान भएकाले यस क्षेत्रलाई श्रीस्थान ज्वाला देवीका रूपमा पुज्ने गरिएको स्थानीय पुजारी बताउँछन यही धार्मिक विश्वासका कारण यहाँ भक्तजनहरू दर्शन तथा पूजाआजाका लागि आउने गर्छन ।
स्थानीय पुजारीका अनुसार यो ज्वाला कहिलेदेखि बल्न थालेको हो भन्ने यकिन जानकारी छैन । पुर्खौंदेखि नै यहाँ आगो बलिरहेको देखेको स्थानीयको भनाइ छ । मानिसहरूले यसलाई दैवी शक्तिका कारण बलिरहेको ज्वालाका रूपमा व्याख्या गर्दै आएका छन ।
स्थानीय पुजारी भन्छन ‘यो ठाउँलाइ ज्वाला देवीका रूपमा पूजा गरिन्छ । सतीदेवीको शिर पतन भएको स्थान भएकाले श्रीस्थानलाई ज्वाला देवी भनिएको हो । यो कहिलेदेखि बलेको हो भन्ने यकिन जानकारी हामीलाई छैन । मानिसहरूले कुनै शक्तिले बलेको हो भन्ने विश्वास गर्दै आएका छन अहिले पनि मानिसहरू दर्शन गर्न आउने–जाने क्रम चलिरहेको छ ।’
धार्मिक विश्वासका आधारमा पुस्तौँदेखि पूजा हुँदै आएको यस स्थानलाई भूगर्भीय दृष्टिकोणबाट पनि महत्त्वपूर्ण मानिन्छ । दैलेखको यही क्षेत्र आसपास जमिनमुनि प्राकृतिक ग्यास तथा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको छ । जमिनबाट प्राकृतिक ग्यास निस्कँदा त्यसमा आगो बल्ने वैज्ञानिक आधार रहेको छ ।
दैलेखको जलजले क्षेत्रमा गरिएको पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणले पनि यस जिल्लालाई राष्ट्रिय चर्चामा ल्याएको छ । प्राकृतिक ग्यासको सम्भावित भण्डारबारे अध्ययन र परीक्षण अघि बढिरहेका बेला श्रीस्थानको प्राकृतिक ज्वालाले धार्मिक तथा वैज्ञानिक दुवै पक्षबाट ध्यान आकर्षित गरेको छ ।
यस क्षेत्रको महत्व धार्मिक आस्थामा मात्र सीमित छैन । स्थानीयस्तरमा पर्यटन, रोजगारी र आर्थिक गतिविधि विस्तार गर्ने सम्भावना पनि यससँग जोडिएको छ । श्रीस्थान, नाभिस्थान, पादुकास्थानलगायत पञ्चकोशी क्षेत्रका धार्मिक स्थललाई व्यवस्थित रूपमा विकास गर्न सके दैलेखमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने स्थानीयको अपेक्षा छ ।
तर प्राकृतिक सम्पदाको उपयोग गर्दा धार्मिक स्थलको मौलिकता, वातावरणीय संरक्षण र स्थानीय समुदायको अधिकारलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने देखिन्छ । प्राकृतिक ग्यासको अन्वेषण र सम्भावित उत्खननले स्थानीय धार्मिक सम्पदामा कुनै असर नपर्ने सुनिश्चित गर्नु चुनौतीपूर्ण विषय हो । पुर्खौंदेखि धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित श्रीस्थान अहिले प्राकृतिक ग्यासको चर्चासँग पनि जोडिएको छ ।
स्थानीयका लागि यो देवीको शक्ति र आस्थाको प्रतीक हो भने वैज्ञानिक दृष्टिकोणबाट जमिनमुनिको प्राकृतिक ग्यासको संकेत हो । यही धार्मिक विश्वास र प्राकृतिक विशेषताको संगमले दैलेखको श्रीस्थानलाई थप विशिष्ट बनाएको छ ।


































