काठमाडौं । ड्राइभिङ लाइसेन्स लिन अब सेवाग्राहीले सम्बन्धित यातायात कार्यालयमै पुगेर पर्खिनुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले लाइसेन्स छपाइ र वितरणलाई सहज बनाउँदै सेवाग्राहीले आफूले चाहेको ठेगानामा लाइसेन्स प्राप्त गर्न सक्ने व्यवस्था अघि बढाएको छ।
यसका लागि सरकारका तीन निकायबीच त्रिपक्षीय सम्झौता भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार मंगलबार पूर्वाधार विकास मन्त्रालयमा यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच सम्झौता भएको हो।
सम्झौताअनुसार यातायात व्यवस्था विभागद्वारा सञ्चालित ‘विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (EDLVRS)’ बाट जारी हुने लाइसेन्सको विवरण सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पठाइनेछ। केन्द्रले प्राप्त विवरणका आधारमा लाइसेन्स छपाइ गर्नेछ।
यस व्यवस्थाले लाइसेन्स छपाइका क्रममा देखिँदै आएको प्राविधिक झन्झट तथा डाटा आदानप्रदानमा लाग्ने समय घटाउने अपेक्षा गरिएको छ।
सुरक्षण मुद्रण केन्द्रमा छपाइ भएका लाइसेन्स हुलाक सेवा विभागमार्फत वितरण गरिनेछ। EDLVRS प्रणालीबाट जारी भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा पठाएर त्यहीँबाट वितरण गर्ने व्यवस्था पनि मिलाइएको छ।
त्यसैगरी, सेवाग्राहीले आफ्नो सुविधाअनुसार इच्छाएको ठेगानामा लाइसेन्स मगाउन सक्ने व्यवस्था गरिएको छ। अर्थात् अब लाइसेन्स लिनका लागि यातायात कार्यालयसम्म पुग्नुपर्ने अवस्थाको विकल्पका रूपमा घरमै लाइसेन्स पुर्याउने व्यवस्था लागू हुने भएको हो।
सरकारले यस व्यवस्थाबाट लाइसेन्स छपाइदेखि वितरणसम्मको प्रक्रिया थप व्यवस्थित, छिटो र सेवाग्राहीमैत्री हुने अपेक्षा गरेको छ।


































