काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी विकास बैंक (एआईआईबी)को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गरेका छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले शनिबार साँझ कतारको राजधानी दोहा गएका हुन्। उनीसँग अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख तथा सहसचिव अमृत लम्साल पनि सहभागी छन्।
दोहामा हुने एआईआईबीको ११औँ वार्षिक बैठकअन्तर्गत अर्थमन्त्री वाग्ले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागी हुने कार्यक्रम छ।
बैठकमा उनले नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकताबारे धारणा राख्नेछन्। साथै, यी क्षेत्रमा बहुपक्षीय सहयोग र लगानी परिचालनका विषयमा छलफल गर्ने मन्त्रीको निजी सचिवालयले जनाएको छ।
कतार भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत छ। त्यसैगरी भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ।
भेटवार्तामा नेपालका आर्थिक तथा विकाससम्बन्धी प्राथमिकतासँगै पूर्वाधार, लगानी र बहुपक्षीय सहकार्यका विषयमा छलफल हुने बताइएको छ।
वार्षिक बैठक तथा निर्धारित द्विपक्षीय भेटवार्ता सम्पन्न गरी अर्थमन्त्री वाग्ले नेतृत्वको नेपाली प्रतिनिधिमण्डल असोज १४ गते कतार एयरवेजको उडानमार्फत स्वदेश फर्किनेछ।































