काठमाडौं । साउन महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेका नयाँ ब्याजदरले मुद्दती निक्षेप (FD) मा लगानी गर्नेहरूका लागि नयाँ संकेत दिएका छन्। पछिल्लो दरअनुसार नबिल बैंक र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर कायम गरेका छन्, जुन अहिलेको बजारमा सबैभन्दा उच्च दर हो।
तर समग्र बैंकिङ प्रणालीमा भने ब्याजदर घट्ने प्रवृत्ति अझै जारी छ।
राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा ठूलो कटौती गर्दै व्यक्तिगततर्फ ०.७५ प्रतिशत बिन्दु र संस्थागततर्फ १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ। त्यसपछि ग्लोबल आइएमई बैंक, एनएमबि बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लगायतले पनि दर घटाएका छन्।
यस्तै कृषि विकास बैंक, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पनि विभिन्न दरमा कटौती गरेका छन्।
अर्कोतर्फ, नेपाल बैंक लिमिटेड ले भने फरक निर्णय गर्दै चार वर्षभन्दा बढी अवधिका संस्थागत मुद्दती निक्षेपमा ब्याजदर ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्याएको छ, जबकि व्यक्तिगततर्फको दर ४.२५ प्रतिशतमै कायम राखिएको छ।
हाल व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ३.८५ प्रतिशत ब्याजदर कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले दिइरहेका छन्। संस्थागत निक्षेपतर्फ सबैभन्दा कम २.७५ प्रतिशत दर विभिन्न बैंकहरूले प्रस्ताव गरेका छन्।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता, कर्जाको माग कमजोर हुनु तथा लगानी विस्तार सुस्त रहनुजस्ता कारणले बैंकहरूले निक्षेपको लागत घटाउने रणनीति अपनाएका छन्। यसले निक्षेपकर्ताको प्रतिफलमा दबाब बढाएको देखिन्छ।



































