काठमाडौँ । गृहमन्त्री सुदन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ। सोमबार आयोगको केन्द्रीय कार्यालयमा पुगेका अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले संयुक्त रूपमा उजुरी दिएका हुन्।
उजुरीमा हिरासत कक्षभित्र मानसिक दबाब, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार उल्लङ्घन भएको आरोप लगाइएको छ। पीडित पक्षले घटनाको तत्काल छानबिन, स्थलगत अनुगमन र आवश्यक सुरक्षा सुनिश्चित गर्न आयोगसँग माग गरेका छन्।
उनीहरूले सोह्रखुट्टे प्रहरी वृत्तमा घटेको घटनाबारे सत्यतथ्य पत्ता लगाउन आयोगको विशेष टोली खटाउन र हिरासतमा रहेका व्यक्तिहरूको बयान लिन अनुरोध गरेका छन्। साथै, सम्बन्धित दिनको सीसीटीभी फुटेज, आगन्तुक विवरण र ड्युटी रजिस्टर सुरक्षित राख्न पनि माग गरिएको छ।
उजुरीमा गृहमन्त्री र उनको टोलीले पद र शक्तिको दुरुपयोग गर्दै हिरासतभित्र प्रवेश गरी धम्की र मानसिक यातना दिएको दाबी गरिएको छ। यस विषयमा संलग्न व्यक्तिमाथि फौजदारी कारबाही र जिम्मेवार प्रहरीमाथि विभागीय कारबाही गर्नसमेत माग गरिएको छ।
यसअघि राष्ट्रिय जेनजी नागरिक अभियानले पनि प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको टोलीले थुनुवा कक्षमा प्रवेश गरी दबाब सिर्जना गरेको आरोप लगाएको थियो।





































