काठमाडौं — बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ जना यात्रु बाहिरिएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको अवधिमा दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको संख्या उल्लेख्य रहेको हो।
उपत्यकाबाट बाहिरिने यात्रुमध्ये सबैभन्दा धेरै नागढुंगा नाका हुँदै २७ हजार ६४९ जना बाहिरिएका छन्। त्यस्तै, भक्तपुर नाकाबाट २० हजार ६१५, फर्पिङ नाकाबाट पाँच हजार ५१०, तीनपिप्ले नाकाबाट ९७२, भट्टेडाँडा नाकाबाट ८८६, साँखु नाकाबाट ६०८, भीमढुंगा नाकाबाट ५१३ र थानकोट नाकाबाट ५६ जना बाहिरिएका छन्।
दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू घर फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहल बढेको छ। सार्वजनिक यातायातमा यात्रुको चाप बढेसँगै यातायात व्यवस्थापनमा समेत चुनौती थपिएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताए। दसैँको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिएका कारण सवारीसाधन समयमै गन्तव्यमा पुग्न र काठमाडौं फर्किन कठिनाइ भएको उनको भनाइ छ।
गत २३ असोजमा अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएपछि सवारी आवागमन अवरुद्ध भएको थियो। त्यसका कारण धेरै सवारीसाधन काठमाडौंमै रोकिँदा यातायात व्यवस्थापनमा थप समस्या भएको महासचिव गौतमले बताए।
यात्रुको चाप बढिरहेका बेला महासंघले यात्रुहरूलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।






































