काठमाडौं । मंगल ग्रहमा कुनै समय जीवन अनुकूल वातावरण रहेको र सूक्ष्मजीवसँग सम्बन्धित जैविक प्रक्रियाका सम्भावित संकेत भेटिएको नयाँ अध्ययनले देखाएको छ । नासाको नेतृत्वमा गरिएको अध्ययनमा इम्पेरियल कलेज लन्डनका वैज्ञानिकहरूको समेत महत्वपूर्ण भूमिका रहेको छ ।
अध्ययनका क्रममा मंगल ग्रहको जेजेरो क्रेटरस्थित ‘ब्राइट एन्जल’ नाम दिइएको चट्टानी संरचनामा विभिन्न खनिज र जैविक पदार्थ भेटिएका छन् । वैज्ञानिकहरूका अनुसार यी संरचनाहरू जैविक कार्बनसँग सम्बन्धित देखिन्छन् र विगतमा जीवन रहेको सम्भावनाको ‘बायोसिग्नेचर’ अर्थात् जैविक संकेत हुन सक्ने देखिएको छ ।
इम्पेरियल कलेजका पृथ्वी विज्ञानका प्राध्यापक सञ्जीव गुप्ताले यो सम्भावित जैविक संकेतको महत्वपूर्ण खोज भए पनि मंगल ग्रहमा जीवन भेटिएको निष्कर्षमा पुग्न नसकिने बताएका छन् । नमुना पृथ्वीमा ल्याएर थप परीक्षण गरेपछि मात्र त्यहाँ देखिएका संरचना जैविक प्रक्रियाबाट बनेका हुन् वा होइनन् भन्ने पुष्टि गर्न सकिने उनको भनाइ छ ।
नासाको ‘पर्सिभरेन्स’ रोभरले सन् २०२१ देखि करिब ४५ किलोमिटर चौडा जेजेरो क्रेटरको अध्ययन गर्दै आएको छ । कुनै समय ठूलो ताल र नदीको डेल्टा रहेको मानिएको यस क्षेत्रमा प्राचीन जीवनका संकेत खोज्न रोभर परिचालन गरिएको हो ।
अध्ययनमा ‘ब्राइट एन्जल’ क्षेत्र प्राचीन नदी उपत्यका ‘नेरेट्भा भालिस’मा रहेको र त्यहाँ सूक्ष्म कणयुक्त माटो तथा माटो मिसिएका ढुंगाका तह भेटिएको उल्लेख छ । यी संरचनाको अध्ययन गर्दा तीव्र गतिमा बग्ने नदीको भन्दा कम ऊर्जाको ताल वातावरणमा ती तहहरू बनेको संकेत वैज्ञानिकहरूले पाएका छन् । अर्थात्, प्राचीन नदी उपत्यकाको तल्लो भागमा कुनै समय ताल बनेको हुन सक्ने देखिएको छ ।
चट्टानमा गरिएको रासायनिक विश्लेषणमा फलाम–फस्फेट र फलाम–सल्फाइड खनिजसँग सम्बन्धित संरचना भेटिएका छन् । नासाका अनुसार तीमध्ये भिभियानाइट र ग्रेगाइटजस्ता खनिज पहिचान भएका छन् । पृथ्वीमा यस्ता खनिज केही अवस्थामा सूक्ष्मजीवका चयापचय प्रक्रियासँग सम्बन्धित हुन सक्छन् । तर यी खनिज जीवनबिना हुने रासायनिक प्रक्रियाबाट पनि बन्न सक्ने भएकाले वैज्ञानिकहरूले जैविक उत्पत्तिको सम्भावना अझै पुष्टि गरिसकेका छैनन् ।
पर्सिभरेन्सले ‘ब्राइट एन्जल’ क्षेत्रबाट ‘सफायर क्यानियन’ नाम दिइएको चट्टानको नमुना ड्रिल गरी सुरक्षित राखेको छ । उक्त नमुनासहित रोभरले संकलन गरेका अन्य नमुना भविष्यको ‘मार्स स्याम्पल रिटर्न’ अभियानमार्फत पृथ्वीमा ल्याउने योजना छ । पृथ्वीका प्रयोगशालामा थप संवेदनशील उपकरणबाट परीक्षण गरेपछि मात्र यी संरचनाको वास्तविक उत्पत्ति र सम्भावित जैविक सम्बन्धबारे थप स्पष्ट हुने वैज्ञानिकहरूको भनाइ छ । एएनआई


































