काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न क्लस्टरबाट पदाधिकारीका आकांक्षीहरू सक्रिय हुन थालेका छन्। यही क्रममा मनिष कुुमार मिश्रले मधेश क्लस्टरबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको चर्चा कांग्रेसभित्र सुरु भएको छ।
पार्टी स्रोतका अनुसार मिश्र मधेश क्लस्टरबाट सहमहामन्त्रीका सम्भावित उम्मेदवारका रूपमा अघि आएका छन्। उनले उम्मेदवारीका विषयमा आन्तरिक छलफल र भेटघाटलाई समेत तीव्रता दिएको बताइएको छ।
मिश्रको राजनीतिक यात्रा नेपाली कांग्रेसबाटै सुरु भएको हो। कांग्रेसको राजनीतिमा सक्रिय रहँदै संगठनात्मक गतिविधिमा समेत संलग्न रहेका उनी केही समय भने पार्टीबाहिर रहेर मधेश केन्द्रित राजनीतिमा सक्रिय भएका थिए।
कांग्रेसका तत्कालीन नेता महन्थ ठाकुरले पार्टी परित्याग गरी नयाँ राजनीतिक दल गठन गरेपछि मिश्र पनि ठाकुरसँगै कांग्रेसबाट बाहिरिएका थिए। त्यसपछि ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा रहेर उनले केन्द्रीय महासचिवको जिम्मेवारी सम्हालेका थिए। उनी पार्टी प्रवक्ताको भूमिकामा समेत रहेका थिए।
लोसपासहित मधेश केन्द्रित दलको राजनीतिमा केही समय सक्रिय भएपछि मिश्र पुनः नेपाली कांग्रेसमा फर्किएका हुन्। कांग्रेसमा पुनरागमनपछि उनी पार्टीका सांगठनिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।
कांग्रेसको विधानअनुसार विभिन्न क्लस्टरबाट पदाधिकारी चयन हुने व्यवस्था छ। सोही व्यवस्थाअन्तर्गत मधेश क्लस्टरबाट सहमहामन्त्री पदका लागि आकांक्षी नेताहरूबीच छलफल र भेटघाट बढिरहेको छ।
यसैबीच मिश्रले पनि सहमहामन्त्री पदमा आफ्नो दाबी अघि बढाउने तयारी थालेका हुन्। यद्यपि, उनको उम्मेदवारीको औपचारिक घोषणा भने भइसकेको छैन।
कांग्रेसभित्र महाधिवेशन केन्द्रित गतिविधि बढ्दै जाँदा विभिन्न पदमा आकांक्षी नेताहरूले आफ्नो राजनीतिक आधार र समर्थनबारे छलफल अघि बढाइरहेका छन्। मधेश क्लस्टरबाट सहमहामन्त्री पदमा मिश्रको सम्भावित उम्मेदवारीलाई पनि यही राजनीतिक तयारीको एक हिस्साका रूपमा हेरिएको छ।































