भक्तपुर । काठमाडौँ क्यान्सर सेन्टरले ४० बर्ष भन्दा माथिका महिलाहरुका लागि निशुल्क मेमोग्राम सेवा उपलब्ध गराउने भएको छ ।
भक्तपुरको ताथलीमा अवस्थित सेन्टरले स्तन क्यान्सरसम्बन्धी जनचेतना बढाउन तथा महिलालाई समयमै स्वास्थ्य परीक्षण गर्न प्रोत्साहित गर्ने नीति स्वरुप ४० बर्षभन्दा माथिका महिलाहरुका लागि निशुल्क मेमोग्राम सेवा उपलब्ध गराउने भएको हो ।
यस्तो निशुल्क सेवा सिमित महिलाहरूका लागि हुनेछ भने अक्टोबर र नोभेम्बर महिनामा सो सेवामा ५० प्रतिशत छुट प्रदान गरिने अस्पताल प्रशासक वर्षा कोइरालाले जानकारी दिइन् ।
२०२६ को अक्टोबर महिनालाई क्यान्सरसम्बन्धी जनचेतना जगाउन विशेष महिनाका रुपमा लिइन्छ ।
काठमाडौँ क्यान्सर सेन्टर ५० सैयाको अस्पताल हो । जसले क्यान्सर सम्बन्धि विगत १० वर्षदेखि विशेषज्ञ चिकित्सकहरुद्वारा सम्पूर्ण उपचार सेवा प्रदान गर्दै आएको छ।
यो अभियानको उद्देश्य महिलालाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउनु र आवश्यक स्वास्थ्य परीक्षणका लागि प्रोत्साहन गर्नु रहेको कोइरालाको भनाइ छ ।
स्तन क्यान्सरको विषयमा अझै पनि धेरै महिलाहरू जानकार नभएको र कतिपय डर वा लाजका कारण परीक्षणमा ढिलाई गर्ने गरेको पाइन्छ।
पिंक अक्टोबरले दिएको सन्देशलाई काठमाडौँ क्यान्सर सेन्टरले समुदायसम्म पुर्याउने प्रयास गरेको छ । ‘स्तन क्यान्सर बारे सचेत बनौं, समयमै परीक्षण गरौं र आफनो स्वास्थ्यको ख्याल गरौं’ सेन्टरले भनेको छ।
सेन्टरले काठमाडौँका काठमाडौँ मल, सिभिल मल, बिजि मल र क्याफेलियाका सात आउटलेटमा फोटो खिचाउन मिल्ने गरेर जनचेतनामूलक रिबनको फ्रेम राखेको छ।
ती स्थानमा गएर फोटो खिच्ने पाँच जनाले निःशुल्क परिक्षणको सुविधा प्राप्त गर्नेछन्। फोटोको प्रमाण भने सम्बन्धित ब्यक्तिले देखाउनु पर्नेछ।
काठमाडौँ क्यान्सर सेन्टरले अक्टोबरमा मात्र नभई वर्षभरी नै क्यान्सरको रोकथाममा जनचेतना फैलाउन सहकार्य गरिरहको छ।


































