काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले तोकिएको समयभित्र नवीकरण नगरेका निर्माण व्यवसायीका इजाजतपत्र स्वतः रद्द भएको जनाएको छ। मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार ४४ वटा फर्म तथा कम्पनीको इजाजतपत्र खारेज भएको हो।
निर्माण व्यवसाय ऐन, २०५५ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्नुपर्ने प्रावधान रहेको थियो। तर, उक्त समयसीमाभित्र नवीकरण प्रक्रिया पूरा नगर्ने व्यवसायीहरूको इजाजतपत्र कानुनी व्यवस्था अनुसार स्वतः खारेज गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले सचिवस्तरीय निर्णयपछि सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबै पक्षलाई जानकारी गराएको छ। साथै, ऐनअनुसार यस्तो प्रक्रिया नियमित रूपमा कार्यान्वयन गरिने पनि जनाइएको छ।

































