काठमाडौँ । ई–पासपोर्ट खरिदसँग सम्बन्धित विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेशी कम्पनीका नेपाली प्रतिनिधिविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। भेरिडोस कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्युलबाउर आइडी सर्भिसका प्रतिनिधि मनिन्द्रराज मल्ललाई प्रतिवादी बनाइएको हो।
मल्ललाई पक्राउ गरिसकिएको छ भने थापा हाल सम्पर्कमा नरहेको आयोगले जनाएको छ। उनीमाथि सोधपुछका लागि पटक–पटक बोलाइए पनि उपस्थित नभएको बताइएको छ।
यस प्रकरणमा अख्तियारले राहदानी विभागका तत्कालीन महानिर्देशकसहित १८ जना, दुई विदेशी कम्पनी, चार विदेशी नागरिक र अन्य संलग्न पक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अनुसन्धानबाट ठेक्का प्रक्रियामा प्राविधिक मापदण्ड परिवर्तन गरी निश्चित कम्पनीलाई फाइदा पुग्ने वातावरण बनाइएको आरोप लगाइएको छ। यस कार्यमा कम्पनीका स्थानीय प्रतिनिधिहरूको पनि संलग्नता देखिएको आयोगको दाबी छ।
मुद्दामा कुल १० अर्बभन्दा बढी रकम बराबरको बिगो दाबी गरिएको छ। यसमा विभागका विभिन्न कर्मचारीहरू पनि प्रतिवादी बनाइएका छन्।
अख्तियारले अनुसन्धानका क्रममा थापाको खोजी जारी रहेको जनाएको छ। प्रारम्भिक सूचनाअनुसार उनी देश बाहिर गएको आशंका गरिए पनि आधिकारिक पुष्टि भने भएको छैन।
आयोगले सार्वजनिक सम्पत्तिमा क्षति पुग्ने गरी अनियमितता भएको निष्कर्षसहित मुद्दा अघि बढाएको जनाएको छ।





































