काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा प्रहरीले नियन्त्रणमा लिएर पछि छाडेको घटनालाई लिएर राजनीतिक बहस चर्किएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिना स्पष्ट कारण विशिष्ट व्यक्तिलाई नियन्त्रणमा लिने क्रम जारी रहे त्यसको परिणाम सरकारका लागि गम्भीर हुन सक्ने बताएका छन् ।
सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले जबरालाई रातको समयमा निवासबाट नियन्त्रणमा लिएर करिब १२ घण्टापछि छाडिएको घटनामाथि प्रश्न उठाएका हुन् ।
प्रहरीले जबरालाई सुरक्षा चुनौती रहेको सूचनाका आधारमा सुरक्षित स्थानमा लगिएको बताएको छ ।
प्रचण्डले सुरक्षा खतरा रहेको दाबी गरिएको भए जबरालाई घरबाट नियन्त्रणमा लिनुको सट्टा उनको निवासमै आवश्यक सुरक्षा व्यवस्था मिलाउन सकिने बताएका छन् ।
उनले सरकारको नियत ‘छोरी पिटेर बुहारी तर्साउने’ खालको हो भने त्यसले सरकारलाई नै अप्ठ्यारो पार्न सक्ने टिप्पणी गर्दै यस्ता घटना दोहोरिन नहुने बताए ।
जबरालाई शनिबार राति महाराजगञ्जस्थित निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । पछि उनलाई आफन्तको जिम्मा लगाएर घर पठाइएको प्रहरीले जनाएको छ ।
जबरालाई नियन्त्रणमा लिइएको घटनाबारे विभिन्न राजनीतिक दल तथा कानुनी क्षेत्रबाट सरकारसँग स्पष्टता मागिएको छ ।
नेपाली कांग्रेसले जबरालाई नियन्त्रणमा लिनुको कानुनी आधार र औचित्य सार्वजनिक गर्न माग गरेको छ । कांग्रेसले विशेष सुरक्षा चुनौती, अनुसन्धानको आवश्यकता वा अन्य असाधारण परिस्थितिका कारण यस्तो कदम चालिएको भए त्यसको विश्वसनीय आधार स्पष्ट गर्नुपर्ने जनाएको छ ।
नेपाल बार एसोसिएसनले पनि जबरालाई नियन्त्रणमा लिनुको उद्देश्य र कारण स्पष्ट गर्न माग गरेको छ । प्रहरीले भने उनलाई औपचारिक रूपमा पक्राउ गरिएको नभई सुरक्षा चुनौतीका कारण सुरक्षित स्थानमा लगिएको बताउँदै आएको छ ।
यसैबीच, प्रचण्डले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा दिएको सम्बोधनबारे पनि प्रतिक्रिया दिएका छन् ।
उनले वर्तमान परिस्थितिमा प्रधानमन्त्रीले उठाउनुपर्ने विषय नै सम्बोधनमा समेटिएको भन्दै त्यसलाई अस्वाभाविक रूपमा बढाइचढाइ गर्न आवश्यक नरहेको बताए ।

































