विराटनगर । विराटनगरमा आयोजित एक प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल पार्टी एकता नभए पनि विभिन्न तहमा सहकार्य गर्ने तयारी भइरहेको बताएका छन्।
उनका अनुसार संसद, सडक आन्दोलन तथा आगामी प्रदेश र स्थानीय तहका निर्वाचनमा एमालेसँग कार्यगत एकताको समझदारी बन्ने क्रममा छ। साथै समाजवादी मोर्चामा आबद्ध शक्तिहरूसँग पनि छिट्टै एकता हुने उनले उल्लेख गरे।
प्रचण्डले अहिलेको अवस्थामा औपचारिक पार्टी एकता प्राथमिकतामा नरहे पनि सहकार्यमार्फत वामपन्थी शक्तिलाई सुदृढ बनाउने रणनीति अघि बढाइएको स्पष्ट पारे। उनले संसद र सडक दुवै मोर्चामा साझा शक्ति प्रदर्शन गर्न सकिने बताए।
सामाजिक सञ्जालमा हुने आलोचना र विरोधलाई सामान्य रूपमा लिन आग्रह गर्दै उनले कार्यकर्ताहरूलाई निर्भीक र सक्रिय बन्न आह्वान गरे। आफूहरू परिवर्तनका लागि सधैं तयार रहेको उल्लेख गर्दै उनले आगामी महाधिवेशनमा थप निर्णायक कदम चालिने संकेत पनि दिए।





































