काठमाडौं । शुक्रबारदेखि लगातार चार दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना देखिएपछि मौसम पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी बाढीपहिरोको जोखिममा रहेका क्षेत्रमा थप क्षति हुनसक्ने भएकाले सावधानी अपनाउन भनिएको छ।
हाल बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा समेत पर्ने देखिएको महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार यस प्रणालीको मुख्य प्रभाव असोज ९, १० र ११ गते देखिनेछ।
गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अतिभारी वर्षा हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने उनले बताए।
यस्तै, लुम्बिनीको दाङभन्दा पूर्वी भूभाग हुँदै नवलपुरसम्म, कर्णालीको पूर्वी क्षेत्र तथा सुदूरपश्चिमका दक्षिणी पहाडी र तराई भूभागमा पनि वर्षाको प्रभाव देखिने अनुमान गरिएको छ।
बागमती प्रदेशको चितवन आसपासका क्षेत्रमा समेत वर्षाको सम्भावना रहेको छ। यसअघि नै बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षाले समेत थप असर पार्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
यसैबीच, नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि पछिल्ला वर्षहरूको प्रवृत्ति हेर्दा यस वर्ष मनसुन बाहिरिने समय केही दिन पछाडि धकेलिन सक्ने महाशाखाले जनाएको छ।






































