काठमाडौं । नेपाल राष्ट्र बैंकले कञ्चनपुरस्थित एक मनिचेञ्जर कम्पनीको इजाजत रद्द गरेको छ। धनगढीस्थित राष्ट्र बैंकको कार्यालयले भीमदत्तनगर–४, महेन्द्रनगरमा सञ्चालनमा रहेको राष्ट्रिय मनिचेञ्जर प्रालिको लाइसेन्स खारेज गरेको जनाएको हो।
उक्त कम्पनीले आफ्नै पहलमा कारोबार बन्द गर्ने निवेदन दिएपछि प्रचलित विनियमावलीअनुसार इजाजतपत्र रद्द गर्ने प्रक्रिया अघि बढाइएको राष्ट्र बैंकले जानकारी दिएको छ। मनिचेञ्जर सम्बन्धी विनियमावली, २०७७ (संशोधनसहित) को प्रावधानअनुसार यस्तो निर्णय गरिएको हो।
यससँगै, उक्त संस्थासँग कुनै आर्थिक लेनदेन वा दाबी–द्वावि रहेका व्यक्ति तथा संस्थाहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र राष्ट्र बैंकको धनगढी कार्यालयमा विवरण पेश गर्न आग्रह गरिएको छ। तोकिएको समयभित्र जानकारी नआएमा नियमानुसार थप प्रक्रिया अघि बढाइने पनि उल्लेख गरिएको छ।





































