काठमाडौं । अब नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारीका लागि सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ । सवारी दर्ता, नामसारी, बीमा तथा नवीकरण प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको हो ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार संशोधित व्यवस्थाले सवारीसाधनसम्बन्धी सेवा लिन कार्यालय धाउनुपर्ने झन्झट कम गर्नुका साथै सेवाग्राहीलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार डिलरबाट गरिएको सवारीसाधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ । यससँगै डिलरबाट जाँच भइसकेको सवारीसाधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन ।
त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत पनि दर्ता तथा नामसारी गर्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित कार्यालयमा उपस्थित भएर प्रक्रिया पूरा गर्न सक्नेछन् ।
संशोधित व्यवस्थाले सवारीसाधनको बीमा तथा बीमा नवीकरणमा पनि सहजता ल्याएको छ । अब बीमा वा बीमा नवीकरण गर्न सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन ।
यसैगरी, सवारीसाधन नामसारीका क्रममा आवश्यक बायोमेट्रिक विवरण लिन सकिने गरी यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
मन्त्रालयले यी संशोधनबाट सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सरल, छरितो र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरेको छ ।







































