काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका चार समितिको बैठक आज बस्दैछ।
प्रतिनिधि सभाका अर्थ समिति तथा कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो। त्यस्तै राष्ट्रिय सभाका विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दैछ।
अर्थ समितिको बैठक बिहान ८ः३० बजेबाट सुरु हुनेछ।
त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ। बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा तथा कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) सम्बन्धमा कृषि, वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कामकारबाहीबारे छलफल गरिनेछ।
यसैगरी, राष्ट्रिय सभाकै विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।

































