काठमाडौं । नेपाल धितोपत्र बोर्ड ले धितोपत्र बजारमा देखिएका समस्या समाधान र लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्दै सुधारका कदम अघि बढाउने जनाएको छ।
बोर्डले सार्वजनिक गरेको सूचनामा पछिल्लो समय बजारमा देखिएका समस्या तथा लगानीकर्ताका गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आगामी साताभित्र विस्तृत कार्ययोजना सार्वजनिक गर्ने तयारी रहेको जनाएको छ। सो कार्ययोजनामार्फत पूँजी बजार विकासका उपायहरू कार्यान्वयनमा लैजाने जानकारी पनि दिइएको छ।
बोर्डका अनुसार धितोपत्र व्यवसायी तथा सम्बन्धित संस्थाहरूलाई मार्जिन कारोबारसहित बजारसम्बन्धी निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
धितोपत्र निष्कासन प्रक्रिया, दर्ता तथा नियमन प्रणालीलाई अझ व्यवस्थित बनाउन ऐन, नियमावली र संस्थागत सुशासनसम्बन्धी व्यवस्थाहरू सुधार गर्ने काम सुरु भइसकेको बोर्डले जनाएको छ।
बोर्डले लगानीकर्तालाई हल्ला, बहकाव र अफवाहमा नलागी आफ्नै अध्ययन तथा विश्लेषणका आधारमा मात्र लगानी निर्णय लिन आग्रह गरेको छ।
नेपालमा धितोपत्र बजारको नियमन गर्ने सर्वोच्च निकायका रूपमा स्थापित बोर्डले बजारको पारदर्शिता र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न विभिन्न सुधारात्मक कदम चाल्दै आएको छ





































