काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि ठूलो संख्यामा मालवाहक सवारीसाधन र त्यसमा संलग्न व्यक्तिहरू सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघका अनुसार बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएका छन् भने ४४१ जना चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन रहेको प्रारम्भिक तथ्यांक छ।
यातायात व्यवस्था विभागले भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन गर्न आग्रह गरेपछि महासंघले आफ्ना सदस्य संघ, समिति तथा कम्पनीबाट प्राप्त विवरण संकलन गरी विभागमा बुझाएको हो।
विभागले असोज २ गते सूचना जारी गर्दै सरकारी तथा गैरसरकारी निकाय, निजी संघसंस्था, सञ्चारमाध्यम, अनुसन्धानकर्ता र अन्य सरोकारवालालाई सात दिनभित्र क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको थियो।
महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाका अनुसार चीनको तिब्बती भूभागबाट आएको बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याउँदा मालवाहक सवारीसाधनसँगै तिनमा संलग्न चालक, सहचालक तथा व्यवसायीसमेत सम्पर्कविहीन भएका हुन्।
महासंघले विभागमा बुझाएको विवरणअनुसार नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि, लोकन्थलीका २१७ वटा ट्रक तथा कन्टेनर बेपत्ता छन्। उक्त संस्थासँग सम्बद्ध २५१ जना चालक, सहचालक तथा व्यवसायी पनि सम्पर्कविहीन रहेको जनाइएको छ।
त्यस्तै, नारायणी यातायात व्यवसायी संघ, हेटौँडाका ५८ वटा सवारीसाधन र ७८ जना, तराई यातायात व्यवसायी संघ, सिमराका २१ वटा सवारीसाधन र ३५ जना तथा ट्रक यातायात व्यवसायी संघ नेपाल, बल्खुका १० वटा कन्टेनर र २० जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
यसैगरी गण्डकी ट्रक व्यवसायी संघ, पोखराका २१ वटा ट्रक तथा कन्टेनर र ३४ जना तथा पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलका ११ वटा कन्टेनर र २२ जना सम्पर्कविहीन रहेको महासंघले जनाएको छ।
संस्था–वार उपलब्ध विवरण जोड्दा सम्पर्कविहीन व्यक्तिको संख्या ४४० जना पुग्छ। तर महासंघले सार्वजनिक गरेको प्रारम्भिक कुल विवरणमा भने ४४१ जना उल्लेख गरिएको छ।
नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुनबहादुर सापकोटाले थप विवरण संकलन भइरहेको बताएका छन्। उनका अनुसार विवरण संकलन पूरा नभएकाले बेपत्ता सवारीसाधन तथा सम्पर्कविहीन व्यक्तिको संख्या अझै बढ्न सक्ने अवस्था छ।
महासंघले हाल उपलब्ध तथ्यांक प्रारम्भिक रहेको भन्दै सदस्य संस्थाबाट थप विवरण प्राप्त भएपछि तथ्यांक अद्यावधिक गरिने जनाएको छ। साथै बाढीबाट प्रभावित यातायात व्यवसायी र उनीहरूका परिवारलाई राहत, क्षतिपूर्ति तथा पुनर्स्थापनाका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग महासंघको छ।
यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन, क्षतिपूर्तिको आधार निर्धारणलगायत विषय समेटेर प्रतिवेदन तयार गर्न समिति गठन गरिएको छ। पूर्वाधार विकास मन्त्रीको अध्यक्षतामा भदौ २६ गते यातायात व्यवसायी तथा अन्य सरोकारवालासहित बसेको बैठकको निर्णयअनुसार समिति गठन गरिएको विभागले जनाएको छ।

































