काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ७६ सवारी चालकलाई कारबाही गरिएको छ। यस अवधिमा जरिवानाबाट राज्यकोषमा १० लाख ५३ हजार ५१० रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८८ जना, नियम विपरीत राइड सेयरिङ सेवा सञ्चालन गर्ने ९३ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने ११७ जना तथा तीव्र गतिमा सवारी चलाउने २२८ जनालाई कारबाही गरिएको छ।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने १२९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जना, फुटपाथमा पार्किङ गर्ने ९० जना र एकतर्फी सडक नियम उल्लङ्घन गर्ने ८८ जना कारबाहीमा परेका छन्।
अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १ हजार १८६ चालकलाई समेत कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।





































