काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन्। उनलाई प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले उक्त जिम्मेवारी दिएका हुन्।
डा. थापा यसअघि काठमाडौं विश्वविद्यालयको उपकुलपति भइसकेका अनुभवी शिक्षाविद् हुन्। उनी इन्जिनियरिङ शिक्षा, ऊर्जा क्षेत्र र जलविद्युत् प्रविधिसम्बन्धी अध्ययन–अनुसन्धानमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्।
इन्जिनियरिङ विषयमा स्नातक अध्ययन पूरा गरेपछि उनले आफ्नो पेशागत यात्रा सुरु गरेका थिए। पछि काठमाडौं विश्वविद्यालयमै उपप्राध्यापकका रूपमा आबद्ध हुँदै उनले प्राध्यापक, सहायक डिन, कार्यकारी डिन र रजिस्ट्रारजस्ता विभिन्न जिम्मेवारी सम्हालेका थिए। २०७७ माघमा उनी काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका थिए।
मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका थापाले स्नातकोत्तर तहमा टर्बाइन रनरसम्बन्धी अध्ययन गरेका छन् भने विद्यावारिधि तहमा हाइड्रोलिक मेसिनहरूमा बालुवाका कणका कारण हुने क्षरण विषयमा अनुसन्धान गरेका छन्।
उनले अमृत साइन्स क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह पूरा गरेका हुन् भने विद्यालय तहको शिक्षा कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलबाट हासिल गरेका छन्।






































