काठमाडौं । फिफिया एपमार्फत अनलाईन जुवा खेलाउने एक युवती पक्राउ परेकी छन् । नेपालमा अवैध रहेको फिफिया एपमार्फत अनलाईन जुवा खेलाउने बाहानामा विभिन्न व्यक्तिबाट ११ लाख बढी रुपैयाँ ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं टोखामा बस्दै आएकी २८ वर्षीय दादिला शेर्पालाई पक्राउ गरेको हो ।
आरोपित शेर्पाले मानिसहरूलाई फेसबुक, ह्वाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जाल मार्फत साथि बनाएर जिमेल आइडी लिएर अनलाईन जुवा प्लेटफर्म फिफियाको अकाउन्ट बनाउन लगाउने गरेकाे पाइएको प्रहरीले जनाएकाे छ ।
उनी पीडितलाई रकम डिपोजिट गरेको ९० मिनेटभित्र लगानी गरेको रकममा १.४८ प्रतिशतका दरले फाइदा हुन्छ भन्ने जस्ता झुट्ठा आश्वासन दिई तीन जना पीडितबाट ११ लाख २७ हजार रुपैयाँ ठगी गरेको अनुसन्धानमा खटिएका प्रहरीले जानकारी दिए ।
उनलाई प्रचलित कानुन बमोजिम ठगी तथा सट्टेबाजी सम्बन्धी कसूर आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ ।

































