काठमाडौँ । सरकारी नम्बर प्लेट सहितका दुई वटा गाडीमा सुनसरी प्रहरीले ६९० किलो गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले गत राति धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको उक्त सरकारी नम्बर प्लेट सहितको गाडीबाट उल्लेखित परिमाणको गाँजा बरामद गरेको जानकारी दिएको छ ।
धरान-१३ अमरहाट भन्ने स्थानमा प्रहरीको चेकिङ छलेर भाग्ने क्रममा गाडी र चालक नियन्त्रणमा लिन ४ राउण्ड गोली फायर गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन आयोजना गरेको प्रहरीले लागु औषध गाँजासहित बरामद सरकारी नम्बर प्लेटका गाडीको सन्दर्भमा अनुसन्धान अघि बढाइएको जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा गाँजा बोक्न प्रयोग भएका दुवै गाडीको नम्बर प्लेट भने सरकारी निकायका गाडीको नम्बरसँग मेल खाएको छ। बा १ झ ५१२७ नम्बरको नम्बर प्लेट कानून तथा न्याय मन्त्रालयको गाडीसँग मेल खाएको छ। त्यसैगरी बा १ झ ४६०५ नम्बर भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडी नम्बरसँग मिलेको प्रहरीको भनाइ छ।
गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरी चेकिङलाई नै ठक्कर दिने गरी तस्करले गाडी भगाएपछि चार राउण्ड गोली फायर गरिएको प्रहरी प्रमुख तिम्सिनाको भनाइ छ। प्रहरीले गाँजासहित मोरङको सुन्दर हरैंचा- ११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई नियन्त्रणमा लिएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

































