काठमाडौं । सरकारी जग्गा गैरकानुनी रूपमा सट्टापट्टा तथा बिक्री–वितरण गरी राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले मंगलबार दायर गरेको आरोपपत्रमा प्रतिवादीहरूबाट ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो असुल गर्न माग गरेको छ। साथै, भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको सजायसमेत माग गरिएको छ।
के हो रिजाल क्यानिङ जग्गा प्रकरण ?
अख्तियारका अनुसार भूमिसुधार मन्त्रालयले २०३२ सालमा रिजाल क्यानिङ एण्ड कम्पनी प्रालिलाई फलफूल उद्योग सञ्चालन गर्ने प्रयोजनका लागि उद्योग सञ्चालन अवधिसम्म सुनसरी र मोरङमा हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिएको थियो।
तर, कम्पनीले स्वीकृत सर्तअनुसार जग्गाको उपयोग नगरी बेवारिसे अवस्थामा छाडेको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ। उक्त जग्गा पछि डम्पिङ साइट र दुर्व्यसनीको अखडाका रूपमा प्रयोग हुन थालेको पाइएको थियो।
सर्त उल्लङ्घन भएपछि सरकारले २०४८ सालमै जग्गा जफत गर्ने निर्णय गरी रोक्का राखेको थियो। तर, पछि कर्मचारी, राजनीतिज्ञ र कम्पनीका सञ्चालकहरूको मिलेमतोमा जग्गा फुकुवा गरी सट्टापट्टा गरिएको अख्तियारको आरोप छ।
८ करोडको जग्गा बेचेर खोलाको जग्गा सट्टा
अख्तियारका अनुसार मोरङको साविक विराटनगर उपमहानगरपालिका–३ स्थित कित्ता नम्बर ४८ र ७१ को ४ बिघा ५ कट्ठा ९ धुर जग्गा गैरकानुनी रूपमा सट्टापट्टा गर्न मन्त्रिपरिषद्बाटै निर्णय गराइएको थियो।
कम्पनीले विराटनगरको उक्त बहुमूल्य जग्गा ८ करोड ३८ लाख ६२ हजार ५०० रुपैयाँमा बिक्री गरेको र त्यसको सट्टामा बनिगामा गाविसमा खोलो बगिरहेको कमसल जग्गा १२ लाख ८५ हजार रुपैयाँमा खरिद गरेको अख्तियारको अनुसन्धानमा उल्लेख छ।
यसरी जग्गा सट्टापट्टा गर्दा राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको अख्तियारको निष्कर्ष छ।
माधव नेपाल र मिनेन्द्र रिजालमाथि के आरोप ?
आरोपपत्रअनुसार सरकारी कायम हुनुपर्ने जग्गा सट्टापट्टा गर्ने प्रस्ताव तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले बदनियतपूर्वक मन्त्रिपरिषद्मा पेस गराएका थिए।
त्यस्तै, तत्कालीन संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री एवं मन्त्रिपरिषद्को सामाजिक समितिका संयोजक डा. मिनेन्द्र रिजालले २०६६ पुस १६ गते उक्त जग्गा सट्टापट्टा गर्ने अन्तिम निर्णय गराएको अख्तियारको आरोप छ।
अख्तियारले नेपाल र रिजाल दुवैसँग जनही ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो असुल गर्न माग गरेको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद तथा जरिवानाको सजायसमेत माग गरिएको छ।
कर्मचारीदेखि कम्पनीका सञ्चालकसम्म प्रतिवादी
यस प्रकरणमा तत्कालीन भूमिसुधार सचिव छविराज पन्त, सहसचिव रमेशचन्द्र अधिकारी, विभिन्न मन्त्रालयका उपसचिव, मालपोत तथा नापी कार्यालयका कर्मचारी र कृषि विकास कार्यालयका अधिकारीहरू पनि प्रतिवादी बनेका छन्।
त्यस्तै, रिजाल क्यानिङ कम्पनीका सञ्चालक कुलचन्द्र प्रसाद रिजाल, राजेन्द्र प्रसाद रिजालसहित ६ जनालाई मुख्य कसुरदारसरह सजाय माग गरिएको छ।
यस प्रकरणमा तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरे र मन्त्री डम्बर श्रेष्ठसहित मृत्यु भइसकेका ८ जना प्रतिवादीका हकमा भने उनीहरूका हकवाला श्रीमती तथा छोराछोरीबाट बिगो असुल गर्न माग गरिएको छ।
४२ जग्गाधनीको जग्गा जफत गर्न माग
गैरकानुनी रूपमा किनबेच हुँदै हाल उक्त जग्गा खरिद गरी आफ्नो नाममा राखेका ४२ व्यक्ति तथा संस्थालाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।
तर, उनीहरूविरुद्ध कैद वा जरिवानाको सजाय माग गरिएको छैन। उनीहरूको नाममा रहेको विवादित जग्गा जफत गरी सरकारी कायम गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताएका छन्।
अब विशेष अदालतमा मुद्दाको सुनुवाइपछि आरोपितहरूको कसुर र सजायबारे अन्तिम निर्णय हुनेछ।


































