काठमाडौं । सरकारी निकायमा हुने अनियमितताविरुद्ध गुनासो गर्ने प्रवृत्ति बढ्दै जाँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा ४० हजार ६५१ उजुरी दर्ता भएका छन्।
दर्ता भएका उजुरीमध्ये सबैभन्दा धेरै स्थानीय तहसँग सम्बन्धित छन्। स्थानीय तहबाट करिब ४९ प्रतिशत, संघीय निकायबाट ३८ प्रतिशत र प्रदेशबाट १३ प्रतिशत उजुरी आएका छन्।
उजुरी दर्तामा अनलाइन माध्यम अग्रस्थानमा रहेको छ।
आयोगले प्राप्त उजुरीमध्ये करिब ८० प्रतिशत उजुरी फर्छ्यौट गरेको जनाएको छ। बाँकी उजुरी भने अर्को आर्थिक वर्षमा सरेका छन्।
गत वर्ष आयोगले विशेष अदालत मा १७५ मुद्दा दायर गरेको छ। ती मुद्दामा ९९० जना प्रतिवादी रहेका छन् र करिब २५ अर्ब रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।
त्यस्तै, २७ वटा रंगेहात कारबाही गरिएको छ। अदालतबाट भएका फैसलामध्ये झन्डै आधामा दोष प्रमाणित भएको आयोगले जनाएको छ।
समग्रमा उजुरीको संख्या बढ्नुले नागरिकको सचेतना बढेको देखिए पनि स्थानीय तहमा अनियमितता अझै चुनौतीकै रूपमा रहेको देखिएको छ।


































