काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताए ।
आज काठमाडौँमा देवशंकर पौडेलेको लिखुसँग आत्मसमर्पण विमोचन कार्यक्रममा बोल्दै उनले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रूपमा लिनुपर्ने र त्यस रूपमा नै अघि सारिएको उनको भनाई छ ।
अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण रहेको र भ्रष्टाचारले नेता, कार्यकर्ता र देश बिग्रिएको नेपालको भनाइ छ। उनले समाज विकृति र विसंगतिका कारण बिग्रिरहेको बताए।
देशको योजना बनाउँदा हावादारी योजना बनाउन नहुने उनको तर्क छ ।
उनले भने, ‘देशको योजना बनाउँदा हावादारी योजना बनाएर भएन। अहिले मैले बजेटको एउटा पक्ष देखेँ। कृषिको सन्दर्भमा ल्याइएका योजनाहरू मलाई साह्रो मन पर्यो। कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रूपमा लिनुपर्ने र त्यस रूपमा नै अघि सारिएको देख्दा धन्यवाद दिन मन लाग्यो।





































