काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्यवस्तु, दाल तथा गेडागुडी र मरमसलाको मूल्यवृद्धि घटेको देखिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ४७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति तीन दशमलव ३९ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति चार दशमलव ०१ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव ७२ प्रतिशत रहेको छ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९ दशमलव ९४, यातायातको १२ दशमलव ०३, शिक्षाको सात दशमलव ४६, मदिराजन्य पेय पदार्थको चार दशमलव ७७ र कपडा तथा जुत्ताचप्पलको चार दशमलव ७३ प्रतिशतले बढेको छ। त्यस्तै, गत चैतमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क तीन दशमलव ७१ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ७४ प्रतिशतले बढेको छ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ९८, मधेशको चार दशमलव ९१, बागमतीको चार दशमलव २०, गण्डकीको तीन दशमलव ८५, लुम्बिनीको पाँच दशमलव १५, कर्णालीको तीन दशमलव ८२ र सुदूरपश्चिम प्रदेशको तीन दशमलव ३९ प्रतिशत रहेको छ। त्यस्तै गत काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ६९, तराईको चार दशमलव ८३, पहाडको चार दशमलव १८ र हिमालको तीन दशमलव २० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।





































