काठमाडौं - बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण भारी वर्षा हुने सम्भावना बढेपछि पश्चिम नेपालका २५ जिल्लामा दुई दिनका लागि यातायात सेवा बन्द गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो।
प्राधिकरणका अनुसार कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका २५ जिल्लामा शुक्रबार र शनिबार अत्यधिक वर्षा हुने पूर्वानुमान गरिएको छ। यी जिल्लाहरूलाई उच्च जोखिमयुक्त क्षेत्रमा राख्दै सो अवधिभर सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
यसैगरी, थप ३० जिल्लामा पनि भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
बाँकी २२ जिल्लामा भने सामान्य वर्षाको अनुमान गरिएको छ। कोसी र मधेश प्रदेशका साथै बागमती प्रदेशका मकवानपुर र सिन्धुली जिल्ला समेटिएको यस क्षेत्रका बासिन्दालाई सतर्क रहन निर्देशन दिइएको छ।

































