काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि हुने भनिएको मतदान दिउँसो १ बजेबाट हुने भएको छ ।
मतदानका लागि केही तयारी नपुगेकाले समय सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
महाधिवेशनमा ७ हजार २५५ प्रतिनिधिले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छन् । सभापतिसहित १८ पदाधिकारीका लागि ७१ र २१० केन्द्रीय सदस्यका लागि ७४१ जना गरी ८१२ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
२९७ सदस्यीय केन्द्रीय कार्यसमितिमा ६६ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापतिले मनोनीत गर्ने व्यवस्था छ । केन्द्रीय सदस्यमध्येबाट चार सहमहामन्त्री र एक कोषाध्यक्ष पनि सभापतिले मनोनीत गर्नेछन् ।
दुई पदाधिकारी र एक केन्द्रीय सदस्य भने निर्विरोध चयन भइसकेका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन् । खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ तोकिएको छ। खुलामञ्चमा रहेको कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।
त्यस्तै खुलामञ्चमा रहेको गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हल बाट मतदान गर्ने व्यवस्था गरिएको छ। खुलामञ्चमा रहेको मधेश प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तोकिएको छ।
लुम्बिनी प्रदेशका प्रतिनिधिले पहाड हलबाट मतदान गर्ने छन् । यस्तै, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले पनि खुलामञ्चमा रहेको पहाड हलबाट मतदान गर्नेछन्।
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ।
मतदान व्यवस्थित र मर्यादित बनाउन निर्वाचनसम्बन्धी आचारसंहिता जारी गरिएको छ । जसमा महाधिवेशन स्थलमा चिटलगायत प्रचार सामग्री बाँड्न प्रतिबन्ध लगाइएको छ । उम्मेदवार तथा प्रचारप्रसारमा खटिएका सबैलाई नियम पालना गर्न आग्रह गरिएको छ ।



































