काठमाडौं - देशका अधिकांश भूभागमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा भारी वर्षा भइरहेको छ।
हालको मौसमी प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा केन्द्रित रहेको र त्यसको प्रभाव नेपालभर परेको महाशाखाले जनाएको छ। पश्चिमी नेपालमा यसको प्रभाव आइतबारसम्म कायम रहन सक्ने अनुमान गरिएको छ। सोमबारदेखि भने मौसम क्रमिक रूपमा सुधार हुँदै जाने पूर्वानुमान छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा धेरै १८७ मिलिमिटर वर्षा मापन भएको छ। विभागले भारी वर्षाको सम्भावना बागमतीका केही जिल्लाबाट क्रमशः सुदूरपश्चिमतर्फ सरेको जनाएको छ।
लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा नदी तथा खोलाको जलसतह बढेको छ। काठमाडौं उपत्यकाका जगाती, हनुमन्ते खोला, नुवाकोटको धुन्चेस्थित त्रिशूली नदी तथा काभ्रेपलान्चोकको पनौतीस्थित रोसी खोलामा जलसतह सतर्कता तहमा पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
मोरङ, सुनसरी, धनकुटा तथा आसपासका जिल्लाबाट बग्ने साना नदी तथा खोलामा पनि बहाव उल्लेख्य रूपमा बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदीको जलसतह बढिरहेको भन्दै आइतबारसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
वर्षाका कारण प्रमुख राजमार्गहरूमा समेत यातायात प्रभावित भएको छ। काठमाडौं उपत्यकाको लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। यसैगरी बीपी राजमार्ग र कान्ति लोकपथ पनि विभिन्न स्थानमा अवरुद्ध भएका छन्।
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
मौसम विभागका अनुसार शनिबार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। केही स्थानमा हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।
शनिबार राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। यस्तै, मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ।
वर्षा, बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलाको आसपास, पहिरोको जोखिम भएका क्षेत्र र अवरुद्ध सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
































