एजेन्सी । अमेरिकी प्राध्यापकहरू रोबर्ट ई. हल र माइकल वुडफोर्डले सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् । ‘समष्टिगत आर्थिक स्थिरीकरणको व्यष्टिगत आर्थिक आधार’ सम्बन्धी अध्ययन तथा योगदानका लागि उनीहरूलाई यो पुरस्कार प्रदान गरिएको रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले सोमबार घोषणा गरेको हो ।
औपचारिक रूपमा ‘अल्फ्रेड नोबेलको स्मृतिमा दिइने स्वेरिजेस रिक्सबैंक पुरस्कार’ का रूपमा परिचित यो प्रतिष्ठित पुरस्कार यस वर्ष घोषणा गरिएको नोबेल पुरस्कारहरूको अन्तिम विधा हो । यस पुरस्कारको राशि १ करोड २० लाख स्विडिस क्रोनर (करिब १२ लाख अमेरिकी डलर) रहेको छ।
सन् १९६९ देखि दिन थालिएको अर्थशास्त्रतर्फको यो पुरस्कार उद्योगपति तथा डायनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले सन् १८९५ को इच्छापत्र (विल) मा समावेश गरेका मूल पाँच विधाहरूमा पर्दैन । यो विधा स्वीडेनको केन्द्रीय बैंकले पछि स्थापना गरेको हो।
अर्थशास्त्रतर्फको यो पुरस्कार जित्ने अधिकांश विजेताहरू संयुक्त राज्य अमेरिकाका रहेका छन्। हालसम्म तीन जना महिलाले मात्र यो पुरस्कार पाएका छन्, जसमा पछिल्लो पटक सन् २०२३ मा अमेरिकामा समयसँगै तलब र रोजगारीमा लैङ्गिक प्रभावबारे अध्ययन गरेबापत क्लाउडिया गोल्डिनलाई प्रदान गरिएको थियो।
गत वर्ष यो पुरस्कार ‘क्रिएटिभ डिस्ट्रक्सन’ (रचनात्मक विनाश) तथा नयाँ प्रविधि र उत्पादन विधिहरूले आर्थिक वृद्धि र जीवनस्तरमा कसरी सुधार ल्याउन सक्छन् भन्ने विषयमा योगदान पुर्याएबापत जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई संयुक्त रूपमा प्रदान गरिएको थियो।
यस वर्ष चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तितर्फका नोबेल पुरस्कारहरू गत हप्ता नै घोषणा भइसकेका छन्।






































