काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले मौसम प्रतिकूल हुने पूर्वानुमानलाई ध्यानमा राख्दै असोज ८ र ९ गते आवश्यकताअनुसार विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले बुधबार शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै स्थानीय तहसँग समन्वय गरी विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षाका लागि आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको हो।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञको पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङको सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।यसबाट बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोधको जोखिम रहेको उल्लेख छ ।
मन्त्रालयले असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई आग्रह गरेको छ ।
साथै, सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र पहिरोको जोखिम भएका स्थानमा जान नदिन आग्रह गरेको छ ।


































