काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा पूर्वप्रतिनिधिसभा सदस्य डा. सुनिलकुमार शर्माले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको १५औँ महाधिवेशनबाट आफू महामन्त्रीमा निर्वाचित भएर पार्टी र राष्ट्र निर्माणमा समर्पित हुने उद्देश्यले उम्मेदवारी दिने निर्णय गरेको बताएका हुन्।
उनले नेपाली कांग्रेसको महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई राष्ट्र निर्माणको संकल्प गर्ने अवसर भएको उल्लेख गरेका छन्।
शर्माले विगतका कमजोरी बिर्सेर सुन्दर भविष्यका लागि अघि बढ्ने र नवयुवा तथा परिपक्व पुस्तालाई सँगै लिएर कांग्रेसलाई राष्ट्र निर्माणको अभियानमा अघि बढाउने बताएका छन्।
महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायत कांग्रेसका नेता–कार्यकर्ताको साझा संकल्प राष्ट्र र पार्टी निर्माण हुनुपर्ने उनको भनाइ छ।
महामन्त्री पदमा निर्वाचित भए पार्टी निर्माण गर्दै पार्टीमार्फत राष्ट्र निर्माणमा योगदान गर्ने शर्माले बताएका छन्। उनले आफ्नो उम्मेदवारीलाई नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम शुभेच्छुकले समर्थन गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।
शर्मा नेपाली कांग्रेसका पूर्वप्रतिनिधिसभा सदस्य तथा पूर्वमहासमिति सदस्य हुन्।
































