काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य नरहेको बताएका छन् ।
बिहीबारको बसेको प्रतिनिधि सभाको बैठकमा पार्टी सभापति लामिछानेले सामाजिक सञ्जालमा एउटा भिडियो बनेको र त्यहाँ सचेत युवाहरूले भ्रष्टाचारमा हदम्यादको प्रावधान राख्न लागिएकोबारे चिन्ता व्यक्ति गरेको भन्दै उनले उक्त हदम्याद कदापि मान्य नरहेको जिकिर गरेका छन् ।
‘सामाजिक सञ्जालमा एउटा भिडिओ बनेको रहेछ जहाँ युवाहरूले चिन्ता व्यक्त गरेका रहेछन् कि भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद लगाउन खोजिएको छ। त्यसमा सचेत हुनुहोला भनिएको रहेछ।
‘नो इफ नो बट, हाम्रो कुरा क्लियर कट१ पाँच वर्षे हदम्याद लागु हुने छैन,’ उनले भने, ‘दुई दलको सरकार भएपछि के परिस्थिति आउला, सचेत हुनुहोला भनेर मैले भनेको थिएँ। आज म निर्धक्क भएको छु।’
साथै कतै यो विधेयक पास हुने त होइन भनेर ती युवामा संशय रहेको बताउँदै रास्वपालाई भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य नहुने बताए। उनले माइतीघरमा प्रदर्शनरत खगेन्द्र सुनारलाई धरपकड गरेर राज्यले उनको आवाज थुन्न खोजेको बताएका छन् ।





































