काठमाडौं । भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ इन्डिया (एनएसई) ले करिब ३० हजार करोड भारतीय रुपैयाँ अर्थात् झन्डै ३ खर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । प्रस्तावित आईपीओ भारतको इतिहासकै सबैभन्दा ठूलो आईपीओ बन्न सक्ने अनुमान गरिएको छ ।
यसअघि भारतमा आएका ठूला आईपीओमध्ये हुन्डाई मोटर इन्डियाको आईपीओ २७ हजार ८७० करोड भारतीय रुपैयाँ र भारतीय जीवन बीमा निगम (एलआईसी) को आईपीओ २० हजार ५५७ करोड भारतीय रुपैयाँको थियो । एनएसईको प्रस्तावित आईपीओले यी दुवैको रेकर्ड तोड्ने अपेक्षा गरिएको छ ।
तर एनएसईको आईपीओ भने केही फरक प्रकृतिको हुनेछ । यो ‘अफर फर सेल’ अर्थात् विद्यमान सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने प्रकृतिको आईपीओ हो । त्यसैले कम्पनीले नयाँ सेयर जारी गर्ने छैन र आईपीओबाट प्राप्त रकम एनएसईमा नयाँ पुँजीका रूपमा जाने छैन ।
प्रस्तावअनुसार विद्यमान सेयरधनीहरूले करिब १४ करोड ८९ लाख कित्ता सेयर बिक्री गर्नेछन् । यो एनएसईको कुल सेयरको करिब ६ प्रतिशत हो । आईपीओपछि एनएसईको सेयर भारतको बम्बई स्टक एक्सचेञ्जमा सूचीकृत हुने तयारी छ ।
भारतीय पुँजीबजार नियामक भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी) ले ४ सेप्टेम्बर २०२६ मा एनएसईलाई आईपीओका लागि अन्तिम स्वीकृति दिएको छ । यससँगै करिब एक दशकदेखि रोकिएको एनएसईको आईपीओ प्रक्रिया अघि बढेको हो ।
प्रारम्भिक तयारीअनुसार सेप्टेम्बरको दोस्रो सातातिर आईपीओको मूल्य ब्यान्ड घोषणा गर्ने, १५ सेप्टेम्बरमा आवेदन खुला गर्ने तथा २४–२५ सेप्टेम्बरतिर सेयर सूचीकरण गर्ने तयारी गरिएको छ ।
आईपीओमा स्टेट बैंक अफ इन्डिया, एमएस स्ट्राटेजिक (मौरिसस), क्यानडा पेन्सन प्लान इन्भेस्टमेन्ट बोर्ड, अरन्डा इन्भेस्टमेन्ट्स, बैंक अफ बडोदा, स्टक होल्डिङ कर्पोरेसन अफ इन्डिया लगायतका विद्यमान सेयरधनीले आफ्नो हिस्सा बिक्री गर्नेछन् । विभिन्न सरकारी बीमा कम्पनीहरू, जीआईसी र न्यू इन्डिया एस्योरेन्सलगायतले समेत सेयर बिक्री गर्ने तयारी गरेका छन् ।
एनएसईले सन् २०१६ मै आईपीओ निष्कासनका लागि अनुमति मागेको थियो । तर को–लोकेसन तथा डार्क फाइबरसम्बन्धी विवादका कारण प्रक्रिया लामो समय रोकिएको थियो । पछिल्लो समय एनएसईले सेबीसँग करिब १ हजार ४९१ करोड भारतीय रुपैयाँमा विवाद समाधान गरेको र सर्वोच्च अदालतमा रहेका सम्बन्धित अपिलसमेत टुंगिएपछि आईपीओ निष्कासनको बाटो खुलेको हो ।


































