काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सरकारलाई बुझाएको छ। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले सो प्रतिवेदन अर्थमन्त्री रामेश्वर खनाललाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
प्रतिवेदनबारे जानकारी दिंदै गभर्नर पौडेलले त्यसमा आर्थिक वर्ष २०८१/८२ को समग्र आर्थिक स्थिति, राष्ट्र बैंकले वर्षभरि सम्पन्न गरेका प्रमुख कार्यहरू, तथा आगामी वर्षका मौद्रिक र वित्तीय नीतिहरूको दिशा–निर्देशन विस्तृत रूपमा समेटिएको बताए।
उनका अनुसार प्रतिवेदनमा विश्वव्यापी आर्थिक परिस्थितिको विश्लेषण तथा त्यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावसमेत उल्लेख गरिएको छ। अन्तर्राष्ट्रिय बजारको उतार–चढाव, मुद्रास्फीति, वैदेशिक मुद्रा सञ्चिति, ब्याजदर, बैकिङ्ग क्षेत्रका जोखिमहरू लगायतका विषयमा पनि विस्तृत विश्लेषण गरिएको छ।
केन्द्रीय बैंकको वार्षिक प्रतिवेदनमा राष्ट्र बैंकको वित्तीय विवरण, आय–व्यय विवरण, नीति कार्यान्वयनको प्रगति तथा आगामी वर्षमा केन्द्रीय बैंकले प्राथमिकताका रूपमा लिने विषयहरू प्रस्तुत गरिने व्यवस्था रहेको छ।
































