काठमाडौं। नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले बढाएको छ। किसानको फार्म–मूल्यलाई आधार बनाएर जारी गर्दै आएको समर्थन मूल्यसूचीमा यसपटक उल्लेखनीय वृद्धि गरिएको सङ्घले जनाएको छ । सङ्घले आजदेखि लागू हुनेगरी तोकेको नयाँ मूल्यअनुसार अति ठूलो (एक्सएल) अण्डाको प्रतिक्रेट (३० वटा) ५२० रुपैयाँ, ठूलो अण्डा ५०५ रुपैयाँ र मिडियम अण्डा ४९० रुपैयाँ कायम गरिएको छ।
सङ्घका अनुसार भारतीय अण्डा अवैध रूपमा सिमानाबाट नेपाल छिर्न रोकिनु मूल्य वृद्धि हुने प्रमुख कारण बनेको हो।
भारतमा प्रतिगोटा अण्डा भारतीय रूपैयाँ ७.८० मा बिक्री भइरहेको छ। भारतमै राम्रो मूल्य पाइएकाले अवैध ढुवानी घटेको र त्यसले नेपाली किसानलाई राहत मिलेको छ। नेपालमा प्रतिगोटा अण्डाको लागत मूल्य १६ रुपैयाँ ५७ पैसा पर्छ। हालको दरमा किसानले उत्पादन लागत बराबरको मूल्य पाउन थालेको सङ्घको भनाई छ ।
तीन महिनाअघि ठूलो अण्डाको प्रतिक्रेट मूल्य ५३० रुपैयाँ पुगेको थियो, तर पछि झर्दै ४०० रुपैयाँसम्म पुगेको थियो। पछिल्लो समय पुनः क्रमशः बढ्दै जाँदा किसानले लागत उठाउन सक्ने स्थिति बनेको सङ्घको दाबी छ। हाल नेपालमा दैनिक करिब ४० लाख गोटा अण्डा उत्पादन हुने गरेको अनुमान छ।
































