काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी नियमन र सुपरिवेक्षण सुदृढ बनाउन आपसी सहकार्यका लागि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहकारी ऐन २०७४ मा भएको व्यवस्थाअनुसार बचत तथा ऋण सहकारी संस्थाहरुको नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको थियो । यस क्रममा रोस्टर तयार गर्ने, शुल्क निर्धारण गर्ने, वित्तीय प्रतिवेदन मानक लागू गर्ने लगायतका विषयमा दुवै निकायबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालियो ।
प्राधिकरणका पदाधिकारीहरूले २० हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी अनुगमन, सुपरिवेक्षण र सदस्यहरूको बचत सुरक्षित गर्न संस्थागत तथा प्राविधिक सहयोग अपरिहार्य रहेको बताए।
त्यस्तै, आइक्यानका अध्यक्ष सारु मगरले सहकारी ऐनको प्रभावकारी कार्यान्वयन, जनशक्ति विकास, सीप आदानप्रदान र प्राविधिक सहकार्यका लागि दुवै निकायबीच औपचारिक समझदारी गर्नुपर्ने धारणा राखे।
कार्यक्रमको अन्त्यमा निकट भविष्यमा दुवै निकायबीच समझदारी गर्ने, प्रुडेन्सियल अडिटलाई अघि बढाउने र आपसी सहकार्यका लागि छुट्टै संयन्त्ररस्टेरिङ कमिटी गठन गर्ने सहमति भएको छ।































