काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले आज शुक्रबारदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको छ। संघका अनुसार अति ठूलो, ठूलो र मिडियम तीनै प्रकारका अण्डाको समर्थन मूल्य प्रति क्रेट ५० रुपैयाँले घटाइएको हो।
नयाँ समर्थन मूल्यअनुसार अति ठूलो अण्डा प्रति क्रेट ५३० रुपैयाँ, ठूलो अण्डा ५१५ रुपैयाँ र मिडियम अण्डा ५ सय रुपैयाँ कायम गरिएको संघले जनाएको छ। यद्यपि, ढुवानी भाडाबापत प्रति पेटी १३० रुपैयाँ अतिरिक्त लाग्ने व्यवस्था यथावत् राखिएको छ।
यसअघि संघले मंसिर २३ गतेदेखि लागू हुने गरी अति ठूलो अण्डाको समर्थन मूल्य ५८० रुपैयाँ, ठूलो अण्डाको ५६५ रुपैयाँ, मिडियम अण्डाको ५५० रुपैयाँ तथा सानो अण्डाको ४६४ रुपैयाँ तोकेको थियो। उक्त मूल्य हालसम्मकै उच्च भएको भन्दै संघको निर्णयप्रति उपभोक्तादेखि सरोकारवाला निकायसम्म चौतर्फी आलोचना भएको थियो।
गत मंसिर महिनामै संघले ३, ७, १३ र २३ गते गरी चार पटकसम्म अण्डाको समर्थन मूल्य सार्वजनिक गरेको थियो। बारम्बार मूल्य परिवर्तन हुँदा बजारमा अन्योल सिर्जना भएको र उपभोक्तामा भार परेको गुनासो बढ्दै गएको थियो।






































