काठमाडौं । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत आवासीय घर निर्माणका लागि लिइने कर्जाको प्रवाह उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म वाणिज्य बैंकहरूले व्यक्तिगत आवासीय घर कर्जातर्फ कुल ३ खर्ब ५२ अर्ब १९ करोड ७० लाख रुपैयाँ प्रवाह गरेका छन्।
यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १०.४६ प्रतिशतले बढी हो।
व्यक्तिगत आवासीय घर कर्जा प्रवाहका आधारमा बैंकहरूमध्ये ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि देखिएको छ। उक्त बैंकले समीक्षा अवधिसम्म ४५ अर्ब २१ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.४८ प्रतिशतले बढी हो। दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकले ४१ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ, तर यो रकम अघिल्लो वर्षको तुलनामा १९.३८ प्रतिशतले घटेको देखिन्छ।
त्यसपछि राष्ट्रिय वाणिज्य बैंकले ३३ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गर्दै तेस्रो स्थानमा रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले बढी हो। नबिल बैंकले ३० अर्ब ६० करोड रुपैयाँ (१२ प्रतिशत वृद्धि) कर्जा प्रवाह गरेको छ भने एभरेष्ट बैंकको कर्जा २६ अर्ब २ करोड रुपैयाँ पुगेको छ, जुन १४.४३ प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै एनएमबी बैंकले २१ अर्ब ६८ करोड रुपैयाँ (२८.४६ प्रतिशत वृद्धि) र लक्ष्मी सनराइज बैंकले २० अर्ब १ करोड रुपैयाँ (९.३५ प्रतिशत वृद्धि) कर्जा प्रवाह गरेका छन्। सिद्धार्थ बैंकको आवासीय कर्जा १७ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले बढेको देखिन्छ। यसैगरी प्रभु बैंकले १३ अर्ब ८५ करोड रुपैयाँ, सानिमा बैंकले १३ अर्ब रुपैयाँ, नेपाल बैंकले १२ अर्ब ६३ करोड रुपैयाँ र सिटिजन्स बैंक इन्टरनेशनलले १२ अर्ब १ करोड रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा प्रवाह गरेका छन्।





































