काठमाडौँ । देशको बैंकिङ प्रणालीमा निक्षेप वृद्धि उल्लेखनीय देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन २७ र २८ गतेको तथ्यांक अनुसार एकैदिनमा बैंकिङ निक्षेप ६ अर्ब रुपैयाँले बढ्न गएको हो ।
गत महिना साउन २७ गतेसम्म कुल बैंकिङ्ग निक्षेप ७२ खर्ब २० अर्ब रुपैयाँ रहेकोमा अर्को दिन अर्थात् साउन २८ गतेसम्ममा यो ७२ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप वृद्धिमा वाणिज्य बैंकको हिस्सा महत्त्वपूर्ण देखिएको छ, जसमा मात्र ७ अर्ब रुपैयाँको वृद्धि भएको छ।
साथै, समीक्षा अवधिमा बैंकिङ्ग प्रणालीको कर्जा प्रवाहमा पनि सामान्य सुधार देखिएको छ। कर्जा प्रवाह १ अर्ब रुपैयाँले बढ्दै ५५ खर्ब ७९ अर्ब रुपैयाँमा पुगेको छ। वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा पनि १ अर्बको वृद्धि देखिएको हो।
राष्ट्र बैंकका अनुसार साउन २८ गतेसम्म अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत कायम रहेको छ भने सीडी रेसियो ७६.२२ प्रतिशतमा सीमित छ। कर्जा प्रवाह अझै पनि सुस्त अवस्थामा रहेको जानकारहरूको धारणा छ ।































