काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिमा १२ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, गत वर्षको सोही अवधिमा ११ करोड ५ लाख नाफा गरेकोमा यस वर्ष नाफा १ करोड १६ लाखले बढेको हो।
यता, बैंकको खुद ब्याज आम्दानीमा भने केही गिरावट आएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा २ अर्ब ५५ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको बैंकले यस वर्ष सो रकम घटेर २ अर्ब २८ करोड ६० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ।
यद्यपि ब्याज आम्दानीमा कमी आए पनि बैंकको सञ्चालन नाफा १९ करोड ३५ लाख २२ हजार रुपैयाँ पुगेको छ। तर वितरणयोग्य नाफा भने ६ अर्ब २४ करोड ८२ लाख १३ हजार रुपैयाँ ऋणात्मक अवस्थामा रहेको विवरणमा उल्लेख छ।
बैंकको चुक्ता पुँजी हाल १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ छ भने जगेडा कोषमा २० अर्ब ९७ करोड ८१ लाख ३६ हजार रुपैयाँ रहेको छ। यस अवधिसम्म बैंकले ३ खर्ब ३७ अर्ब ३१ करोड ४८ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब २२ करोड १८ लाख ५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकले हाल बजारको प्रतिस्पर्धा, ब्याजदरको उतारचढाव र कर्जा मागमा आएको कमीका कारण आम्दानीमा दबाब परे पनि संस्थागत पुँजी तथा जगेडाको स्थिति सुदृढ रहेको जनाएको छ।
































