काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा, आम्दानी र सञ्चालन परिणाम सबै सूचकमा उल्लेखनीय प्रगति गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको असोज मसान्तसम्म ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। चालु वर्षको सोही अवधिमा भने ७७.८७ प्रतिशत वृद्धि गर्दै १ करोड २७ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ८ लाख रुपैयाँबाट १३ करोड ६३ लाख रुपैयाँ पुगेको छ, जसमा ६८.५५ प्रतिशत वृद्धि भएको छ।
सञ्चालन नाफा दोब्बरभन्दा बढी
गत आवको पहिलो त्रैमाससम्म कम्पनीले ७१ लाख ३९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो। यो रकम चालु आवको सोही अवधिमा १ करोड ८१ लाख ७६ हजार रुपैयाँ पुगेको छ । जुन १५४.६० प्रतिशतको वृद्धि हो।
कर्जा गुणस्तरमा सुधार र EPS वृद्धि
समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात ६.३७ प्रतिशतबाट घटेर ४.६३ प्रतिशत पुगेको छ।
पूँजी, रिजर्भ र लगानी स्थिति
कम्पनीको चुक्ता पूँजी ७२ करोड १४ लाख रुपैयाँ छ भने शेयर प्रिमियम ७ करोड २९ लाख रुपैयाँ रहेको छ। रिजर्भ कोषमा २२ करोड ३ लाख रुपैयाँ सञ्चिति रहेको छ भने जगेडा कोषमा ४६ लाख रुपैयाँ ऋणात्मक स्थिति देखिन्छ। कम्पनीले समीक्षा अवधिसम्म ७ अर्ब ३ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने १ अर्ब ५९ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।
































