काठमाडौं । एलआईसी नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.६६ प्रतिशतले बढेको छ।
यस अवधिमा कम्पनीले २३ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ।
समीक्षा अवधिमा कम्पनीले १३ अर्ब ९५ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यसैअवधिमा कम्पनीले १२ अर्ब ८६ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा ८.४३ प्रतिशतले बीमा शुल्क बढाउन सफल भएको छ।
कम्पनीको कुल आम्दानी ७.९५ प्रतिशतले बढेर २३ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको जीवन बीमा कोष २९ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।
कम्पनीको महाविपत्ति कोषमा ६८ करोड ७६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ सञ्चिति रहेको छ।
चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ९७ पैसा रहेको छ ।






































