काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ९४ हजार भन्दा धेरैले लिएको ७८ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको उल्लेख गरेको छ ।
नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत कुल ९४ हजार ९ सय २० ऋणीले लगेको ७८ अर्ब ६६ करोड कर्जा उठ्न बाँकी रहेको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकका अनुसार कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लगेका ३५ हजार ८ सय ६१ ऋणीले ५७ अर्ब ५५ करोड कर्जा उठ्न बाँकी छ। यो बाहेक महिला उद्यमशील कर्जाअन्तर्गत ५७ हजार ६ सय ३६ महिला उद्यमीले लगेको २० अर्ब ९ करोड कर्जा तिर्न बाँकी रहेको छ ।
साथै, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत १ हजार ४ सय २३ ऋणीले लगेको १ अर्ब २ करोड कर्जा उठ्न बाँकी रहेको हो। यसअगाडि सरकारले ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण उपलब्ध गराउँदै आएको पैसा दुरुपयोग भएको अध्ययन देखिएको थियो।































