काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा आज (कात्तिक २७ गते) बिहान ११ बजे पोखरास्थित होटल पोखरा ग्राण्डमा सुरु हुँदैछ।
सभाले बैंकको हाल कायम चुक्ता पूँजीमा ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, गत आर्थिक वर्षको लेखापरीक्षित वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा सार्ने, बैंकको छाप तथा लोगो परिवर्तन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिने छन्।
साथै, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एकीकरण (मर्जर/एक्विजिसन) सम्बन्धी प्रक्रिया अघि बढाउन र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यस आधारमा कात्तिक १७ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीहरू सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य रहेका छन्।
































